Add parallel Print Page Options

परमेश्वरले यहोशूलाई इस्राएलको अगुवाई गर्नका निम्ति चुन्नुहुन्छ

मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो, “मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु। मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु। हित्तीहरूको सम्पूर्ण भूमि, मरुभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ। कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन।

“यहोशू, तँ दृढ़ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु। तर तँ एउटा अर्कोको कारणले पनि दृढ अनि साहसी हुनुपर्छ। मेरो दास मोशाले तँलाई दिएका आज्ञाहरू पालन गर्नमा तँ निश्चित हुनु पर्छ। यदि तैंले उसको उपदेशहरू दाहिने देब्रे नफर्कीकन अनुशरण गरिस् भने तैंले गरेका सबै काममा तँ सफल हुनेछस्। त्यस व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सदैव याद राख्। दिन-रात त्यस पुस्तकको अध्यान गर्। तब तँ त्यसमा लेखिएका कुराहरू पालन गर्न निश्चित हुने छस्। यदि तैंले यसो गरिस् भने तँ ज्ञानी बन्ने छस् अनि तैंले जे कुरा गर्छस् त्यसमा सफल हुने छस्। याद राख, मैले तँलाई दृढ अनि साहसी हुनु भनी आज्ञा गरेकोछु। यसकारण, भयभीत नहो, किनभने परमप्रभु तेरो परमेश्वर तँ जहाँ कँही गएता पनि तेरो साथ रहनु हुनेछ।”

यहोशूले आदेश दिन्छन्

10 यसकारण यहोशूले मानिसहरूका अगुवाहरूलाई आदेश दिए, उसले भने, 11 “छाउनी भएर जाऊ अनि मानिसहरूलाई तयार हुनु भन। मानिसहरूलाई भन, ‘केही खाद्य पदार्थ तयार गर। अहिले देखि तीन दिनमा हामी यर्दन नदी पारी जानेछौं। परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुहुँदै गरेको भूमि अधिकार गर्न हामी जानेछौ।’”

12 तब यहोशू रूबेन, गादका कुल समूह अनि मनश्शेका आधा कुल समूहसित बात गरे, यहोशूले भने, 13 “याद गर परमप्रभुका दास मोशाले तिमीहरूलाई के भनेका थिए। उनले तिमीलाई भनेका थिए, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा विश्राम गर्ने भूमि दिनुभएको छ, परमप्रभुले यो भूमि तिमीहरूलाई दिनुभएको हो। 14 वास्तवमा, परमप्रभुले तिमीहरूलाई यर्दन नदीको पूर्व तफर्को यो भूमि दिइसक्नु भएकोछ। यो भूमिमा तिमीहरूका पत्नीहरू, अनि छोरा-छोरीहरू तिमीहरूका पशु प्राणीहरू समेत बस्न सक्नेछौ। तर तिमीहरूका योद्धा मानिसहरू तिमीहरूका दाज्यू-भाइहरूसित यर्दन नदी पार गरी जानुपर्छ। तिमीहरू युद्धका निम्ति तयार हुनुपर्छ अनि तिनीहरूलाई आफ्ना भूमि लिनका निम्ति सहायता गर्नुपर्छ। 15 परमप्रभुले तिमीहरूलाई विश्राम गर्नका निम्ति एक स्थान दिनु भएकोछ। अनि तिम्रा दाज्यू-भाइहरूका निम्ति पनि उहाँले त्यसै गर्नु हुनेछ। तर तिमीहरूले तिनीहरूलाई त्यस बेलासम्म सहायता गर्नु पर्छ, जबसम्म तिनीहरूले त्यो भूमि प्राप्त गर्ने छैनन्। जुन परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूलाई दिनु हुँदैछ। तब तिमीहरूको आफ्नै देश, यर्दन नदीको पूर्व तर्फर्को देशमा फर्की आउँन सक्छौ। परमप्रभुको दास मोशाले त्यो भूमि तिमीहरूलाई दिनु भएको छ।”

16 तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं। 17 तपाइले हामीलाई जे भने पनि हामी त्यसको पालन गर्नेछौं जसरी हामीले मोशाका आज्ञा पालन गरेका थियौं। हामी परमप्रभुसित एउटा कुराको मात्र याचना गर्न सक्छौ। हामी यो याचना गर्छौ कि, परमप्रभु तपाईंको परमेश्वर जसरी उहाँ मोशाका साथ हुनुहुनथ्यो त्यसरी नै तपाईंको साथ रहनुहुनेछ। 18 तब, यदि कुनै मानिसले तपाईंको आज्ञा पालन गर्न अस्वीकार गर्छ भने अथवा यदि कुनै मानिस तपाईंको विरूद्ध हुन्छ भने, त्यस मानिसलाई मारिने छ। बलियो अनि साहसी मात्र बन्नुहोस्।”