Add parallel Print Page Options

अमालेकीहरूले सिकलगमाथि आक्रमण गरे

30 तेस्रो दिन दाऊद र तिनका मानिसहरू सिकलग आए अनि यो भष्म भएको देखे। जब अमालेकीहरूले नेगेभ क्षेत्रमा आक्रमण गरे? तिनीहरूले सिकलगमा आक्रमण गरे अनि शहरमा आगो लगाइदिए। तिनीहरूले सिकलगका स्त्रीहरूलाई बन्दी बनाए। बूढा अथवा जवान सबै मानिसहरूलाई समाते। तिनीहरूले कसैलाई पनि मारेनन्। बन्दी मात्र बनाए।

जब दाऊद र तिनका मानिसहरू सिकलग आए शहर जलिरहेको पाए। तिनीहरूका पत्नीहरू छोरा-छोरीहरू सबै अमालेकीहरूले लगेकाले कोही थिएनन्। त्यसैले दाऊद र अरू मानिसहरू धेरै रोए। अमालेकीहरूले दाऊदका दुवै पत्नीहरू यिज्रेली अहीनोअम र कर्मेली नाबालकी विधवा अबीगेललाई पनि हरेर लगेछन्।

सेनाका सबै मानिसहरू आफ्ना छोरा छोरी सबै बन्दी बनाइएकोमा दुःखी भई रिसाए। मानिसहरूले दाऊदलाई ढुङ्गाले हिर्काएर मार्ने कुरा गर्दैथे। यसले दाऊदलाई साह्रै नराम्रो लाग्यो। तर दाऊदले परमप्रभु उनका परमेश्वरबाट शक्ति पाए। दाऊदले पूजाहारी एबीयातारलाई भने, “एपोद ल्याउनुहोस्।”

दाऊदले परमप्रभुलाई बिन्ती गरे, “मेरो परिवारका सदस्यहरूलाई हरण गर्नेहरूलाई के म खेदौं? म तिनीहरूलाई पक्रन सक्छु?”

परमप्रभुले भन्नु भयो, “तिनीहरूलाई पछ्याऊ, तिनीहरूलाई पक्रन सक्छौ र तिम्रो परिवारका सदस्यहरूलाई बँचाउन सक्छौ।”

दाऊद र तिनका मानिसहरूले मिश्री दासलाई पाउँछन्

9-10 दाऊद आफ्ना साथमा 600 मानिसहरू लिएर बसोर खोल्सामा गए। त्यो ठाउँमा झण्डै 200 मानिस त्यहीं बसे। त्यहाँ बस्नुको कारण तिनीहरू धेरै कमजोर थिए र थाकेका पनि थिए, यसकारण दाऊद 400 मानिसहरू लिएर अमालेकीहरूलाई लगातार पछ्याउन थाले।

11 दाऊदका मानिसहरूले खेतमा एउटा मिश्रीलाई भेटे। त्यस मिश्रीलाई तिनीहरूले दाऊदका सामु हाजिर गराए। तिनीहरूले त्यस मिश्रीलाई पानी र भोजन दिए। 12 तिनीहरूले एउटा टुक्रा नेभाराको रोटी र दुइ झुप्पा किसमिस पनि दिए। खाना खाएपछि उनी फुर्तीला भए। तीन दिन तीन रातदेखि न त खाना खाए, न पानी पिए।

13 दाऊदले त्यस मिश्रीलाई सोधे, “तिम्रो मालिक को हो? तिमी कहाँबाट आयौ?”

त्यस मिश्रीले जवाफ दिए, “म एकजना मिश्री हुँ। म एकजना अमालेकीको दास हुँ। तीन दिनअघि म बिरामी भएँ र मालिकले मलाई त्यागिदिए। 14 हामीले नेगेव इलाकामा आक्रमण गर्यौं जहाँ करेतीहरू बस्थे। हामीले यहूदा र नेगेवमा आक्रमण गर्यौ जहाँ कालेबी जाति बस्थे। हामीले सिकलगलाई जलायौ।”

15 दाऊदले भने, “के तिमी मलाई तिनीहरूकहाँ पुर्याइदिन सक्छौ जसले हाम्रा परिवारका सदस्यहरूलाई समातेका छन्?”

त्यस मिश्रीले भने, “परमेश्वरको अघि यदि तपाईंले मलाई मार्दिन अथवा मेरो मालिकको घरमा मलाई फिर्ता दिने वचन दिनुभयो भने म तपाईंलाई सहयोग गर्छु।”

दाऊदले अमालेकीहरूलाई हराउँछन्

16 त्यस मिश्रीले दाऊदलाई अमालेकीहरू भएको ठाउँमा पुर्यायो। त्यसबेला अमालेकीहरू खाँदै र पिउँदै भुइँमा पल्टिरहेका थिए। तिनीहरूले पलिश्ती र यहूदाका क्षेत्रबाट जे-जे लूटेका थिए त्यहीसँग रमाइलो मनाइरहेका थिए। 17 दाऊदले तिनीहरू माथि आक्रमण गरे र मारे। तिनीहरू घाम झुल्के देखि अर्को दिनको साँझसम्म लडे। अमालेकीहरू कोही भाग्नसकेनन्। खालि 400 सेनाहरू तिनीहरूका ऊँठमा चढेर गए।

18 अमालेकीहरूले लुटेका जति सबै उनका दुइटी पत्नीहरू सहित दाऊदले उद्वार गरे। 19 कोही पनि हराएनन्। बूढा र जवान सबै पुनःप्राप्त गरे। सबैका छोरा छोरी पनि पाइए। अमालेकीहरूले लुटेका प्रत्येक चीज दाऊदले पुनः प्राप्त गरे। 20 सबै भेंडा, बाख्रा, गाई, गोरू दाऊदले फिर्ता लिए। दाऊदका मानिसहरूले ती पशुहरूलाई अघि लगाए। तिनीहरूले भने, “यी सबै दाऊदका उपहार हुन्।”

भागबण्डा सबैमा बराबर हुने

21 दाऊद बसोर खोल्सामा ती 200 मानिसहरू बसेको ठाउँमा आए। यी मानिसहरू साह्रै कमजोर र थाकेका हुनाले दाऊदसँग जान सकेका थिएनन्। यी मानिसहरू दाऊद र सैनिकहरूलाई भेट्न बाहिर आए। तिनीहरूले दाऊद र सैनिकहरूलाई अभिवादन गरे जब तिनीहरू नजिक आए। 22 दाऊदसँग केही दुष्ट मानिसहरू पनि गएका थिए अनि जसले समस्या उब्जाइ रहन्थे। ती दुष्टहरूले भने, “यी 200 मानिसहरू हामीसित गएका होइनन्। यिनीहरूले आफ्ना पत्नी र छोरा-छोरीहरू सिवाय केही पनि पाउने छैनन्।”

23 दाऊदले जवाफ दिए, “होइन, मेरा भाइ हो। त्यसो गर्नु हुँदैन। बिचार गर त परमप्रभुले हामीलाई के दिनुभयो! परमप्रभुले हामीलाई शत्रु हराउन सहयोग गर्नुभयो जसले हामी माथि आक्रमण गर्यो। 24 तिमीले जे भन्छौ त्यसमा कसैले ध्यान दिनेछैन। जो लडाईंको मैदानमा जान्छन् र जो यहाँ बसेर माल-समानको रक्षा गर्नेले तिनीहरूको लागि बराबर भागबण्डा हुनेछ। सबैले बराबर भाग बण्डा पाउने छन्।” 25 दाऊदले यो आदेश दिए र इस्राएलमा शासन गरे अनि आज पनि इस्राएलमा यही नियम लागू छ।

26 दाऊद सिकलग आइपुगे। तिनले अमालेकीहरूबाट पाएका सामानहरू यहूदाका आफ्ना मित्रहरू र नेताहरूलाई पठाइदिए। दाऊदले भने, “परमप्रभुका शत्रुबाट खोसेका चीजहरू तपाईंलाई उपहार स्वरूप छ।”

27 दाऊदले त्यसरी नै ती सामानहरू बेतेलका नेताहरूलाई, नेगेबका रमोत, यतीरमा, 28 अरोएर, सिपमोत, एस्तमो, 29 राकालमा भएकाहरूलाई, यरहमैलीहरू र केनीहरूका शहरहरूमा, 30 होर्मामा, बोराशानमा, अत्ताकमा, 31 अनि हेब्रोनमा भएकाहरूलाई पठाइदिए। दाऊदले तिनका मानिसहरू जहाँ-जहाँ गएका थिए ती सबै ठाउँका नेताहरूलाई पठाइदिए।