Añadir traducción en paralelo Imprimir Opciones de la página

आज्ञा पालन गर्दा आशीर्वाद

28 “अब यदि तिमीहरू आज मैले बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्न होशियार भयौ भने परमप्रभु आफ्ना परमेश्वरले तिमीहरूको राष्ट्रलाई पृथ्वीका अन्य सबै राष्ट्रहरू भन्दा माथि राख्नु हुनेछ। यदि तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको आज्ञा पालन गर्यौ भने यी सबै आशीर्वाद तिमीहरूमाथि लाग्नेछन् र यी सब तिमीहरूका हुनेछन्।

“शहरमा र गाउँ-बस्तीमा
    परमप्रभुले तिमीहरूलाई आशिष दिनु हुनेछ।
परमप्रभुले तिमीहरूका धेरै नानीहरू
    होस् भनी आशिष दिनु हुनेछ।
परमप्रभुले तिमीहरूको भूमिमाथि आशिष दिनुहुनेछ,
    जसले गर्दा उब्जाऊ बेशी हुनेछ।
परमप्रभुले तिमीहरूका पशुहरूलाई आशिष दिनु हुनेछ,
    र ती पशुहरूले धेरै बच्चाहरू जन्माउने छन्।
परमप्रभुले तिमीहरूको डालाहरू
र पिठो मुछ्ने आह्रीमाथि आशीर्वाद दिनुहुनेछ,
    अनि सधैँ खाद्य पर्दाथले भर्नु हुनेछ।
परमप्रभुले तिमीहरूलाई सदा-सर्वदा
    तथा तिमीहरूले जे गर्छौ प्रत्येक चीजमा आशिष दिनु हुनेछ।

“तिमीहरूसित लडाईं गर्न आउने शत्रुहरूलाई पराजित गाराउन परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुनेछ। शत्रुहरू तिमीहरूसित लडाईं गर्नु एउटै बाटो भएर आउनेछन् तर तिनीहरू सातवटा बाटा भएर भाग्नेछन्।

“परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आशिष दिनु हुनेछ र तिमीहरूको ढुकुटीमा तिमीहरू जे गर्छौ प्रत्येक चीजमा परमप्रभुले आशिष दिनु हुनेछ। यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरलाई अनुशरण गर्छौ अनि उहाँको आदेशहरू पालन गर्छौ भने परमप्रभुले तिमीहरूलाई उहाँका विशेष पवित्र मानिसहरू बनाउनु हुनेछ। 10 तब पृथ्वीका सबै मानिसहरूले थाहा पाउनेछन् तिमीहरू परमप्रभुका मानिसहरू हौ र तिनीहरू तिमीहरूसित डराउने छन्।

11 “तिमीहरूलाई दिन्छु भनी तिमीहरूको पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नु भएको भूमिमा तिमीहरूलाई सन्तान, गाई-बस्तु र खेती-पातीमा परमप्रभुले खुवै उन्नति गराउनु हुनेछ। 12 आशिषको भण्डार खोलेर परमप्रभुले तिमीहरूको खेतीको निम्ति ऋतुमा झरी पठाउनु हुनेछ। तिमीहरू जे गर्छौ सबैमा आशीर्वाद दिनु हुनेछ। तिमीहरूले अरू राष्ट्रहरूलाई रूपियाँ ऋण दिनेछौ तर तिमीहरूलाई तिनीहरूबाट ऋण लिन आवश्यक पर्नेछैन। 13 परमप्रभुले तिमीहरूलाई पुच्छर होइन शिर बनाई राख्नु हुनेछ, तिमीहरू सधैँमाथि हुने छौ फेदमा होइन। यदि तिमीहरूले आज मैले बताउँदै गरेको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू पालन गर्यौ भने तिमीहरूको निम्ति यस्तो हुनेछ। तिमीहरूले यी आज्ञाहरू होशियारीसँग पालन गर्नु पर्छ। 14 आज मैले तिमीहरूलाई दिएका यी उपदेशहरूबाट नफर्क तिमीहरू दाहिने अथवा देब्रे फर्कनु हुदैन। तिमीहरूले अन्य देवताहरूको सेवा गर्न तिनीहरूलाई अनुशरण गर्नु हुदैन।

आज्ञा पालन नगर्नेहरूलाई सराप

15 “तर यदि तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले बताए अनुसार गर्दैनौ तिमीहरू आज मैले बताएका आज्ञाहरू र विधिहरू पालन गर्दैनौ भने तिमीहरूमाथि यी सब नराम्रा कुराहरू आइपर्नेछन्।

16 “परमप्रभुले शहर र खेतहरूमा
    तिमीहरूलाई सराप्नु हुनेछ।
17 परमप्रभुले तिमीहरूका डालाहरू
र पिठो मुछ्ने आह्रीमा सराप्नु हुनेछ
    अनि तिनीहरूमा खाद्य हुने छैन।
18 परमप्रभुले तिमीहरूलाई सराप्नु हुनेछ
    अनि तिनीहरूका धेरै नानीहरू हुने छैनन्।
उहाँले तिमीहरूका भूमिलाई सराप्नु हुनेछ
    अनि तिमीहरूले राम्रो अन्नबालि पाउने छैनौ।
उहाँले तिमीहरूका पशुहरूलाई सराप्नु हुनेछ
    अनि तिनीहरूले धेरै बाछा-बाछी ब्याउने छैनन्।
19 परमप्रभुले तिमीहरूलाई प्रत्येक समय प्रत्येक कुरोहरूमा सराप्नु हुनेछ,
    तिमीहरूले जे गरे पनि।

20 “यदि तिमी अनिष्ट काम गर्छौ अनि परमप्रभुबाट टाढा हुन्छौ, तब उहाँले तिमीलाई अशुभ कार्य भएको बनाउनु हुनेछ। तिमी आफूले गरेको प्रत्येक कार्यमा निराशा र कष्ट पाउने छौ। उहाँले यस्तो तिमीहरू चाँडै अनि सम्पूर्ण नाश नहुन्जेलसम्म निरन्तर गर्नु हुनेछ। उहाँले यस्तो गर्नु हुनेछ किनभने तिमीहरू उहाँबाट टाढा भयै अनि उहाँलाई छाड्‌यौ। 21 जबसम्म तिमीहरू दखल भएको भूमिबाट शेष हुँदैनौ, ध्वंश हुदैनौ, परमप्रभुले तिमीहरूमाथि भयंङ्कर रोगहरू सृष्टि गर्नु हुनेछ। 22 परमप्रभुले तिमीहरूलाई विभिन्न रोगहरू, ज्वरो र सुजन दिएर सजाय दिनु हुनेछ। परमप्रभुले प्रचण्ड ताप पठाउनु हुनेछ अनि तिमीहरूले पानी पाउने छैनौ रोग र गर्मीले तिमीहरूको सब बाली नाश हुनेछ जबसम्म तिमीहरू ध्वंश हुदैनौ यी सब नराम्रा कुराहरू तिमीहरूमाथि परिरहनेछन्। 23 आकाशमा बादल हुनेछैन र आकाश पालिश घसेको काँसा झैं देखिनेछ। तिमीले टेकेको भूमि फलाम झैं कडा हुनेछ। 24 परमप्रभुले पानी पठाउनु हुनेछैन, आकाशबाट खाली बालुवा र धुलो मात्र झर्नेछ अनि जतिन्जेलसम्म तिमीहरू ध्वंश हुँदैनौ यस्तो भइरहने छ।

25 “तिमीहरू शत्रुहरूमाथि आक्रमण गर्न एउटा मार्गबाट आउनेछौ तर परमप्रभुले तिमीहरूलाई पराजय हात लगाई दिनुहुनेछ र तिमीहरू सातवटा विभिन्न बाटोहरू भएर भाग्नेछौ। तिमीहरूमाथि जुन नराम्रा कुराहरू आइपर्ने छन् त्यसबाट पृथ्वीका समस्त मानिसहरू भयभित हुनेछन्। 26 तिमीहरूका मृत शरीरहरू जंगली पंक्षी र जनावरहरूको आहार बनिनेछ, तिनीहरूलाई तिमीहरूको मृत शरीरबाट धपाउने कोही हुनेछैन।

27 “परमप्रभुले मिश्र बासीहरूलाई झैं तिमीहरूलाई खटिराहरू दिएर दण्ड दिनुहुनेछ। उहाँले तिमीहरूलाई पिलो, गिर्खा र चिलाउने घाउ दिएर दण्ड दिनु हुनेछ। 28 परमप्रभुले तिमीहरूलाई बहुलाहा, अन्धा र हृदयमा बेचैनी पारिदिनुहुनेछ। 29 तिमीहरू दिउँसै बाटोमा अन्धा झैं हिड्नेछौ। तिमीहरूले गरेको प्रत्येक कुरोमा असफलता मात्र हात लाग्नेछ। घरि-घरि मानिसहरूले तिमीहरूलाई कष्ट दिइरहने छन्, तिमीहरूको वस्तुहरू चोरी भइरहनेछ तर तिमीहरूलाई बचाँउने कोही हुनेछैन।

30 “स्त्री एकजना तिमीसित मगनी हुनेछ तर कोही अर्को मानिस तिनीसित लैंगिक सर्म्पक राख्नेछ। तिमीले घर बनाउने छौ तर त्यसमा बस्नु पाउने छैनौ। तिमीले अङ्गुरको खेती गर्नेछौ तर बाली उठाउन पाउने छैनौ। 31 मानिसहरूले तिम्रा अघिनै तिम्रा गाईहरू मार्नेछन् तर मासु खान पाउने छैनौ। मानिसहरूले तिमीहरूका गधाहरू लानेछन् तर फर्काउने छैनन्। तिमीहरूका शत्रुहरूले तिमीहरूको भेंडाहरू लानेछन् तर तिमीहरूलाई बचाउँने कोही त्यहाँ हुनेछैन।

32 “तिमीहरूका छोरा-छोरीहरूलाई अरू जातिका मानिसहरूले लैजाने छन्। तिमीहरू आफ्नो छोरा-छोरीहरू आँउछन् कि भनी दिनभरि आखाँ टट्याउन्जेल बाटो हेर्नेछौ तर तिमीहरूले पाउने छैनौ। परमप्रभुले तिमीहरूलाई सहायता गर्नु हुने छैन।

33 “तिमीहरूको सम्पूर्ण मेहनत र अन्नहरू एउटा अपरिचित जातिले लैजानेछ। तिमीहरूसित मानिसहरूले गाली र नराम्रो व्यवहार मात्र गर्नेछन्। 34 तिमीहरूले देखेको चीजहरूले तिमीहरूलाई बौलाहा बनाउँछ। 35 परमप्रभुले कहिले जाति नहुने पिलोद्वारा तिमीहरूलाई दण्ड दिनु हुनेछ। घुँडा र खुट्टाहरूमा यी पिलोहरू हुनेछ। यी घाउहरू शरीरमा पैतालादेखि टाउकाको तालुसम्म प्रत्येक अङ्गमा हुनेछ।

36 “तिमीहरूका राजा र तिमीहरूलाई परमप्रभुले तिमीहरूका पिता-पुर्खा तथा तिमीहरूले नचिनेको नदेखेको जातिमा पठाइदिनु हुनेछ। त्यहाँ तिमीहरूले काठ तथा ढुङ्गाले बनिएको झूटो देवताको सेवा गर्नेछौ। 37 देशहरू जहाँ परमप्रभुले तिमीहरूलाई पठाउनुहुनेछ त्यहाँ मानिसहरू तिमीहरूमाथि भएको कष्ट देखेर दुःखी हुनेछन् अनि तिनीहरू तिमीहरूमाथि हाँस्नेछन् र अपमान गर्नेछन्।

असफलताको सराप

38 “तिमीहरूको खेतबारीले प्रशस्त अन्न उब्जाउनेछ तर कम्ती हुनेछ, किनकि अन्न सलहले खाइदिनेछ। 39 तिमीहरूले दाखको खेती मेहनत गरी लगाउनेछौ तर किराहरूले नष्ट गर्नाले उब्जनी प्रशस्त नभएर दाखरसको निम्ति रस पनि पाउनेछैनौ। 40 तिमीहरूको भूमिमा जताततै भद्राक्षको रूखहरू भएर पनि त्यसको तेल चलाउन पाउने छैनौ कारण फलहरू सबै भूईंमा झरेर सड्नेछन्। 41 तिमीहरूका छोरा-छोरीहरू धेरै भए पनि तिनीहरूलाई राख्नु पाउने छैनौ किनभने तिनीहरू पक्राउ पर्नेछन् अनि कैदमा पर्नेछन्। 42 तिमीहरूको खेतमा सबै अन्न र रूखहरू सलहले नष्ट पारी दिनेछ। 43 तिमीहरूले आफ्नो शक्ति गुमाउने छौ तर तिमीहरूमाझ बस्ने विदेशीहरू धेरै शक्तिशाली हुनेछन्। 44 विदेशीहरूसित तिमीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछ, तर तिमीहरूसित तिनीहरूलाई ऋण दिने रूपिया पैसा हुनेछैन। तिमीहरू पुच्छर जस्तै हुनेछौ र तिनीहरूले तिमीहरूलाई शिरले शरीर नियन्त्रण गरे झैं गर्नेछन्।

45 “जबसम्म तिमीहरू ध्वंश हुदैनौ तिमीहरूमाथि आई लाग्ने सरापले खेद्दै पक्रँदै गरिरहनेछ कारण तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले बताउनु भएको कुराहरू मानेनौ। उहाँले दिनु भएको आज्ञा तथा विधिहरू तिमीहरूले पालन गरेनौ। 46 अनि तिनीहरू सघैं तिमीहरू अनि तिमीहरूका सन्तान अघि इर्श्वरको न्यायको प्रतीकको रूपमा रहने छन्।

47 “कारण तिमीहरूसित प्रत्येक चीज परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको प्रशस्त हुँदा तिमीहरूले उहाँको सेवा गरेनौ। 48 यसकारण तिमीहरूले तिमीहरूको शत्रुहरूको सेवा गर्नेछौ। जो परमप्रभुले तिमीहरूको विद्धमा पठाउनु हुनेछ। तिमीहरू भोकाएका, तिर्खाएका, नाङ्गा र गरीब हुनेछौ। परमप्रभुले तिमीहरूमथि जुन एउटा भारी लाद्नु हुनेछ। तिमीहरूले आफू नाश नहुन्जेल सम्म हटाउन सक्नेछैनौ।

शत्रु राष्ट्रको सराप

49 “परमप्रभुले तिमीहरूसित लडाँईं गर्न टाढाबाट एउटा जातिका मानिसहरू ल्याउनुहुनेछन् तिनीहरू आकाशबाट गरूडले झम्टे जस्तै आउने छन्। तिमीहरूले तिनीहरूको भाषा बुझ्ने छैनौ। 50 तिनीहरू निष्ठुर हुनेछन्, बूढापाकाको आदर गर्दैनन् अनि स-साना नानीहरूप्रति दया देखाउँदैनन्। 51 तिनीहरूले तिमीहरूका पशुहरू र बाली लानेछन्। तिमीहरूको नाश नहुन्जेलसम्म तिनीहरूले प्रत्येक चीज लाने छन्। तिनीहरूले तिमीहरूका लागि अन्न, मद्य, तेल, गाईहरू, भेंडाहरू अथवा बाख्राहरू छोड्ने छैनन्। तिनीहरूले तिमीलाई नष्ट नगरे सम्म प्रत्येक चीज लाने छन्।

52 “तिमीहरू सोच्छौ त्यस शहरहरूको वरिपरि अग्ला-अग्ला र शक्तिशाली पर्खालहरूले तिमीहरूलाई सुरक्षा दिन्छन्। तर ती पर्खालहरू ढल्नेछन्। त्यस राष्ट्रका मानिसहरूले सबै शहरहरू घेरेर तिमीहरूमाथि आक्रमण गर्नेछन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु भएको भूमिमा एउटै शहर पनि बाँकी नराखी शत्रुहरूले आक्रमण गर्नेछन्। 53 तिमीहरूको शहर थुनुवामा परेको हुनेछ र तिमीहरूलाई यस्ता कष्ट आइलाग्नेछ कि भोक लाग्दा खान केही नपाएर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको आफ्नै सन्तान छोरा-छोरीको मासु खानेछौ।

54 “त्यस बेला तिमीहरू माझमा भएका अत्यन्तै भला मानिसहरू पनि आफ्नै दाज्यू-भाइ, आफूले प्रेम गरेको पत्नी अनि आफ्नै छोरा-छोरीहरूप्रति पनि अत्यन्तै निष्ठुर हुनेछन्। 55 यसकारण भोजनको अभावमा तिमीहरूले आफ्नै नानीहरू खानेछौ अनि कसैसित बाँड्ने छैनौ जब शत्रुहरूले तिमीहरूको शहरहरूलाई थुनुवामा पार्छन अनि तिमीहरूलाई कष्ट दिन्छन् यी सबै नरम्रा घटनाहरू हुनेछन्।

56 “अति कोमल र दयालु स्त्री जसले आफ्नो कोमलताको कारण भूइँमा पैताला राखेकी छैनन्, ऊ पनि आफ्नो पति र नानीहरू प्रति निष्ठूरी हुन्छे। 57 त्यो स्त्री त्यससमय यति निष्ठूरी हुन्छे उसले गर्भबाट गुप्तरूपले नानी जन्माउछे र त्यो नानी र त्यससित निस्केको साल पनि आफैं खान्छे कारण त्यहाँ खाने कुरा केही हुँदैन। जब शत्रुहरू आएर तिमीहरूको शहरहरू घेर्नेछन र तिमीहरूले कष्ट पाउनेछौ। त्यहाँ त्यस्ता प्रकारको नराम्रा कुराहरू हुनेछन्।

58 “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू र शिक्षाहरू पालन गर्नु पर्छ जो यस व्यवस्थाको पुस्तकमा लेखिएका छन् र तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको आश्चर्यपूर्ण र भय योग्य नाउँको सम्मान गर्नु पर्छ। 59 परमप्रभुले तिमीहरू र तिमीहरूका सन्तानलाई धेरै कष्टहरू दिनु हुनेछ। 60 तिमीहरूले मिश्रमा धेरै कष्ट र रोगहरू देख्यौ जसले तिमीहरूलाई नराम्रो कुराहरूले भयभीत बनायो परमप्रभुले ती सबै तिमीहरूमाथि ल्याउनुहुनेछ। 61 परमप्रभुले यस विधिको पुस्तकमा नलेखिएका कष्टहरू र रोगहरू पनि तिमीहरू नष्ट नहुन्जेलसम्म ल्याउनु हुनेछ। उहाँले यस्ता कष्टहरू निरन्तर ल्याउनु हुनेछ। 62 आकाशका ताराहरू जतिनै तिमीहरूका संख्या धेरै हुन सक्छन् तर परमप्रभु तिमीहरूका परमेश्वरलाई नमानेको कारण तिमीहरू एक्दमै थोरै संख्यामा रहने छौ।

63 “तिमीहरू प्रति राम्रो हुनका लागि र तिमीहरूको राष्ट्रको विकास गराउन परमप्रभु जति खुशी हुनु हुन्थ्यो तिमीहरूलाई नष्ट र ध्वंश पार्नु पनि त्यति नै खुशी हुनु हुनेछ। त्यो भूमि तिमीहरूले आफ्नै बनाउन जाँदैछौ तर मानिसहरूले तिमीहरूलाई भूमिबाट लखेट्नेछन्। 64 पृथ्वीका सबै मानिसहरू माझ परमप्रभुले तिमीहरूलाई छरपष्ट पारिदिनु हुनेछ। परमप्रभुले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म अन्य राष्ट्रका मानिसहरूमाझ छरपष्ट पारिदिनु हुनेछ। अनि त्यहाँ तिमीहरू काठ तथा ढुङ्गाले बनिएका झूटा पुर्खाहरूका थाहा नपाइएका देवताहरू पूज्ने छौ।

65 “ती राष्ट्रहरूका माझ तिमीहरूले शान्ति पाउने छैनौ र विश्रामको निम्ति तिमीहरूले ठाउँ पाउने छैनौ। परमप्रभुले तिमीहरूको मनमा चिन्ता भरी दिनु हुनेछ। तिमीहरूका आँखा थाकेका हुनेछन्। तिमीहरू दुःखी हुनेछौ। 66 तिम्रो जीवन डरले परिपूर्ण हुनेछ र तिमीहरू रात-दिन सधैँ डराएको हुनेछौ अनि तिमीहरू आफ्नो जीवनप्रति विश्वस्त हुने छैनौ। 67 बिहानै तिमी भन्ने छौ, ‘यो बेलुकी भए हुनेथ्यो’ बेलुकी तिमी भन्नेछौ, ‘यो बिहान भए हुन्थ्यो।’ किनभने तिम्रो हृदयमा डर हुनेछ अनि तिमीले नराम्रा कुराहरू देख्नेछौ। 68 परमप्रभुले तिमीहरूलाई जहाजद्वारा मिश्र फर्काउनु हुनेछ मैले तिमीहरूलाई भने, ‘तिमीहरूले कहिले त्यस ठाउँमा जानु पर्दैन तर परमप्रभुले तिमीलाई त्यहाँ पठाउनु हुनेछ।’ मिश्रमा तिमीहरू आफूलाई शत्रुहरू समक्ष कमारा-कमारीको रूपमा बेच्ने चेष्टा गर्नेछौ तर कसैले तिमीलाई किन्ने छैन।”

मोआबमा वाचा

29 परमप्रभुले होरेब पर्वतमा इस्राएलका मानिसहरूसँग गर्नु भएको करार बाहेक उहाँले मोआब देशमा मोशासित अर्को करार गर्ने आदेश दिनु भयो जब तिनीहरू मोआबमा थिए। त्यो करार यस्तो छ।

मोशाले इस्राएलका सबै मानिसहरूलाई बोलाएर भने, “परमप्रभुले मिश्र देशमा फिरऊन र उसका सेवकहरू र उसको सम्पूर्ण भूमिका लागि जे गर्नु भएको थियो तिमीहरूले सबै देख्यौ। तिमीले आफ्नै आँखाले उहाँले गर्नु भएका ठूला-ठूला कष्टहरू, अलौकिक कामहरू र अचम्मका चीजहरू देख्यौ। तर आज पनि तिमीले बुझेनौ के भएको थियो, परमप्रभुले तिमीलाई बुझ्ने अनुमति दिनु भएको छैन के देख्यौ अनि सुन्यौ? परमप्रभुले भन्नुभयो, ‘मैले तिमीहरूलाई मरुभूमिमा चालीस बर्षसम्म डोर्याउँदा तिमीहरूको शरीरको लुगा फाटेन, अनि खुट्टामा लगाएको जुत्ता पनि पूरानो भएन तिमीहरूले रोटी खाएनौ र दाखरस कुनै प्रकारको मद्य पिएनौ। मैले तिमीहरूलाई रक्षा गरेर ल्याएँ जसले गर्दा तिमीहरू बुझ्न सक्छौ म परमप्रभु नै तिमीहरूका परमेश्वर हुँ।’

“तिमीहरू यस ठाउँमा आउँदा हेशबोनका राजा सीहोन र बासानका राजा ओग हामीलाई आक्रमण गर्न आए तर तिनीहरूलाई हरायौं। अनि हामीले तिनीहरूको देश रूबेनी, गाद, अनि मनश्शेको आधा कुललाई आफ्नो अंशको रूपमा दियौं। यदि तिमीहरूले यस करारमा भएका आज्ञाहरू पालन गर्यौ भने तिमीहरू आफूले गरेको प्रत्येक कार्यमा सफल हुने छौ।

10 “आज तिमीहरू सबै जना परमप्रभु तिमीहरूका परमेश्वर अघि उभिरहेका छौ। तिमीहरूका अगुवाहरू, मुखियाहरू, बूढा-प्रधानहरू तथा इस्राएलका सबै बासिन्दाहरू यहाँ छन्। 11 तिमीहरूको पत्नी, बाल-बच्चाहरू तथा तिमीहरूसित बस्ने विदेशीहरू लगायत तिमीहरूका दाउरा काट्ने अनि पानी बोकनेहरू यहाँ छन्। 12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरसित एउटा करारमा बाँधिनु पर्छ र परमप्रभुले त्यो करार आज बनाउनु हुँदैछ। 13 यो प्रतिज्ञासँगै, परमप्रभुले तिमीहरूलाई उहाँको आफ्नै विशेष मानिसहरू बनाउनु भयो, अनि त्यो प्रमाणित गर्नु भएको छ उहाँ तिमीहरूको परमेश्वर हुनुहुन्छ जस्तो उहाँले तिमीहरू अनि तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक अनि याकूबलाई गर्नु भएको थियो। 14 परमप्रभुले तिमीहरूसित मात्र यो करार गर्नु तथा प्रतिज्ञा गर्नु हुनेछैन, 15 तर परमप्रभु तिमीहरूका परमेश्वर सबैसँग यो करार गर्नु हुँदैछ जो उहाँको अघि उभिएका छन् अनि हाम्रा भावी सन्तानहरूसँग जो आज हामीसँग छैनन्। 16 तिमीहरूलाई थाहा छ हामी मिश्र देशमा कसरी बाँचेका थियौं अनि तिमीहरूले सम्झना गर हामीहरू कसरी यहाँसम्म आउँदा देशहरू भएर यात्रा गर्यौं। 17 तिमीहरूले ती काठ, ढुङ्गा, चाँदी र सुनले बनिएका घृणित मूर्तिहरू देख्यौ। 18 दृढ भएर बस तिमीहरूमध्ये कुनै पनि पुरूष अथवा स्त्री, कुल अथवा परिवार समूह परमप्रभु हाम्रा परमेश्वरदेखि टाढा नजाऊ कुनै पनि मानिस अन्य राष्ट्रले मान्ने देवताको सेवा गर्न नजाऊन्। जुन मानिसले त्यो गर्छ त्यो एउटा उद्भिद जस्तै हो जसले उम्रेर तितो अथवा विषालु फल दिन्छ।

19 “कुनै मानिसले यी सरापहरू सुन्न सक्छ आफूलाई सजिलो ठान्दै भन्छ, ‘म जे गर्दौछु, गर्दै लानेछु मसित कुनै अनिष्ट हुने छैन।’ त्यस मानिसले आफूलाई मात्र नष्ट गर्दैन तर प्रत्येकलाई यहाँसम्म राम्रा मानिसहरूलाई पनि गर्छ। 20-21 परमप्रभुले त्यस्ता मानिसलाई माफ गर्नु हुन्न। परमप्रभुको रीस र डाहाले त्यस्ता मानिस भष्म हुन्छन्। व्यवस्थाको पुस्तकमा लेखिएका सबै नराम्रा कुराहरू त्यसमाथि पर्नेछन् र परमप्रभुले त्यसलाई ध्वंश पारी त्यसको नाउँ निशाना पृथ्वीबाट लोप गराउनु हुनेछ। व्यवस्थाको पुस्तकमा लेखिएको करारको सराप अनुसार परमप्रभुले त्यस मानिसलाई दण्ड दिनुका लागि इस्राएलीहरूका सबै कुलहरूबाट अलग गर्नु हुनेछ।

22 “भविष्यमा जब तिमीहरूका सन्तानहरू तथा टाढा-टाढाबाट आएका विदेशीहरूले देख्ने छन् कसरी भूमि नष्ट भयो। तिनीहरूले देख्ने छन् कसरी रोगहरू परमप्रभुले ल्याउनु भयो। 23 त्यहाँको भूमि सब गन्धकको आगोले जल्नेछ र नूनले ढाकिनेछ अनि त्यहाँ घाँससम्म उम्रने छैन। परमप्रभुको रीसले त्यो भूमि नष्ट हुनेछ जस्तो सदोम, गमोरा, अदमा र सबोयीम नष्ट गरिएका थिए।

24 “तब अरू सबै राष्ट्रका मानिसहरूले सोध्नेछन्, ‘परमप्रभुले यो भूमिलाई यस्तो पार्नुभयो? उहाँ किन यति विघ्न रिसाउनु भयो?’ 25 उत्तर यस्तो हुनेछ, ‘कारण इस्राएलका मानिसहरूले तिनीहरूलाई मिश्र देशबाट ल्याउँदा परमप्रभु तिनीहरूको पिता-पुर्खाहरूको परमेश्वरसित गरिएको करारलाई त्याग गरे। 26 तिनीहरू आफूले नचिनेको र परमप्रभुले नबताएको अन्य जातिको देवताहरूको सेवा तथा पूजा गर्न लागे। 27 अनि परमप्रभुको क्रोधले यस भूमिका प्रत्येक मानिसहरूमाथि नराम्रा कुरा ल्याए त्यो शिक्षाहरूको पुस्तकमा लेखिएका छन्। 28 परमप्रभु अत्यन्तै असन्तुष्ट हुनु भएकोले त्यस भूमिबाट बाहिर निकालेर अहिले तिनीहरूले बसो-बास गरेको भूमिमा राख्नु भयो।’

29 “परमप्रभु हाम्रा परमेश्वरले केही कुरो रहस्यमा राख्नु भयो जो उहाँले मात्र जान्नुहुन्छ। तर परमप्रभुले हामीलाई केही बताउनु भयो अनि ती शिक्षाहरू हाम्रो र हाम्रा सन्तानको निम्ति हुन् र ती सदा सर्वदाको निम्ति रहनेछन्। अनि हामीले व्यवस्थामा भएका सबै आज्ञाहरू पालन गर्नु पर्छ।

इस्राएलीहरू आफ्नो भूमिमा फर्कन्छन्

30 “मैले तिमीहरूलाई बताएको आशीर्वाद र सरापहरू तिमीहरूमाथि पर्नेछन् अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई खेदी पठाउनु भएको भूमिमा ती कुराहरू सम्झना गर्नेछौ। त्यस समय जब तिमीहरूका सन्तान र तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वर कहाँ फर्केर आउनेछौ र आज मैले बताएका उहाँका सबै आज्ञाहरू हृदयबाट नै पालन गर्नेछौ। तब परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरू प्रति दयालु हुनुहुनेछ र तिमीहरूलाई मुक्त गराई तिमीहरूलाई छरपष्ट पारेर पठाइएका देशहरूबाट फर्काई ल्याउनु हुनेछ। यदि तिमीहरूलाई अत्यन्तै टाढा देशहरूमा पठाइएको भए पनि बटुलेर ल्याउनुहुनेछ। जुन भूमि तिमीहरूका पिता-पुर्खाहरूको थियो त्यो फेरि तिमीहरूकै हुनेछ। परमप्रभु तिमीहरूको निम्ति असल हुनुहुनेछ र तिमीहरूको पिता-पुर्खाहरूसँग भएको भन्दा धेरै परमप्रभुले तिमीहरूलाई दिनु हुनेछ। अरू जातिमाभन्दा तिमीहरूको जन संख्या धेरै हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरू र तिमीहरूका सन्तानलाई उहाँका आज्ञाहरू पालन गर्नु इच्छुक बनाउनु हुनेछ। तब तिमीहरूका सम्पूर्ण हृदय र सारा प्राणले परमप्रभुलाई प्रेम गर्नेछौ र बाँच्नेछौ।

“अनि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको शत्रुहरूमाथि यी सबै सरापहरू ल्याउनु हुनेछ। किनभने तिनीहरूले तिमीहरूलाई घृणा गरे अनि तिमीहरूमाथि आक्रमण गरे। अनि फेरि तिमीहरूले परमप्रभुको आज्ञा मान्ने छौ र जुन म आज तिमीहरूलाई बताई रहेछु, पालन गर्नेछौ। परमप्रभु तिम्रा परमेश्वरले तिमी जुन सुकै काम हातमा लिन्छौ सफल तुल्याइ दिनु हुनेछ। परमप्रभुले तिम्रो सन्तानमा वृद्धि, गाई-बस्तुहरूमा बाछा-बाछीहरू वृद्धि तथा खेतवारीको अन्न तथा फल फूलहरूमा बृद्धि गराई दिनु हुनेछ। परमप्रभु तिम्रा पिता-पुर्खाहरूसँग खुशी हुनुहुन्थ्यो तिमीहरूसित पनि त्यस्तै खुशी हुनुहुनेछ। 10 व्यवस्थाको यस पुस्तकमा लेखिएका आज्ञाहरू पालन गर्यौ र नियमहरूको अनुशरण गर्यौ भने र यी सबै आफ्नो सम्पूर्ण हृदय र सम्पूर्ण प्राणले परमप्रभु तिमीहरूको परमेश्वरलाई तिमीहरूले आज्ञा पालन गर्नेछौ। यी सबै राम्रा राम्रा चीजहरू तिमीहरूले पाउनेछौ तर परमप्रभु तिमीहरूको परमेश्वरले जे भन्नु भएको छ त्यो तिमीहरूले मान्नुपर्छ।

जीवन र मृत्यु

11 “आदेश जो म तिमीहरूलाई आज दिंदैछु त्यो पालनगर्न न अप्ठयारो छ न टाढा नै छ। 12 यो आदेश स्वर्गमा छैन तब तिमीहरूले भन्न सक्छौ, ‘हाम्रो निम्ति को स्वर्ग जानेछ र त्यो लिएर आउनेछ? अनि हामी सुन्नु र गर्नु सक्छौ।’ 13 यो आदेश समुद्रको अर्को किनारमा छैन तब हामी भन्न सक्छौ, ‘हाम्रो निम्ति समुद्र पार गरेर को जानेछ र त्यो लिएर आउनेछ? अनि हामीले सुन्न र गर्न सएने हुन्छौ।’ 14 होइन, त्यो शब्द तिमीहरूको अत्यन्तै नजिकै छ, त्यो तिमीहरूले पालन गर्न सक्छौ कारण त्यो तिमीहरूको मुखमा छ अनि हृदयमा छ।

15 “आज मैले तिमीहरूलाई राम्रो र नराम्रो अनि जीवन र मृत्यु रोज्न दिएको छु। 16 म तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्ने र उहाँका आज्ञाहरू पालन गर्ने, उहाँको विधि तथा नियमहरू अनुशरण गर्ने आदेश दिन्छु। परमप्रभु तिमीहरूका परमेश्वरले दिने भूमि आफ्नो बनाउनको निम्ति प्रवेश गररिरहेका छौ त्यहाँ परमप्रभुले आशिष दिनु हुनेछ र त्यहाँ तिमीहरू बसो-बास गर्नेछौ अनि तिमीहरूका सन्तान फिँजिनेछन्। 17 तर यदि तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ अनि अट्टेरी गरेर अन्य देवताहरूको सेवा र पूजा गर्यौ भने, 18 तब तिमीहरू ध्वंश हुनेछौ। म तिमीहरूलाई चेतावनी दिन्छु यदि तिमीहरूले परमप्रभुलाई अमान्य गर्यौ भने यर्दन नदीपारि पट्टिको भूमि जुन तिमीहरू आफ्नो बनाउँन प्रवेश गर्न लागेका छौ त्यहाँ धेरै बाँच्ने छैनौ।

19 “आज मैले तिमीहरूलाई स्वर्ग र पृथ्वीलाई साक्षी राखेर दुइवटा ढुङ्गाहरूबाट एउटा रोज्नु लाउँदैछु। जीवन अथवा मृत्यु रोज्न सक्छौ। पहिलो रोजाइ आशीर्वाद ल्याउँछ, अनि अरू रोजाई सराप यसकारण जीवनलाई रोज। तब तिमी अनि तिमीहरूको नानीहरू बाँच्ने छन्। 20 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर्नै पर्छ र उहाँका आज्ञा पालन गर्नै पर्छ। उहाँलाई कहिलै त्याग नगर किनभने परमप्रभु नै तिमीहरूका जीवन हुनुहुन्छ। तब परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूः अब्राहाम, इसहाक र याकूबसित गर्नु भएको प्रतिज्ञा अनुसार पाएको भूमिमा उहाँले दीर्घायु जीवन दिनुहुनेछ।”